Home
Media News

नेशनल हाईड्रोले एकसाथ बोलायो बहुबर्षीय साधारणसभा, कम्पनीको अबस्था स्पष्ट पार्नेदेखि मर्जमा जानेसम्मका प्रस्ताव।


लामो समयदेखि बिबादको घेरामा रहेको नेशनल हाईड्रोपावर(NHPC)ले बिगतमा भएको बदमासीलाई स्पष्ट गरी कम्पनीलाई नयाँ रुपमा अगाडि बढाउने उद्धेश्यसहित एकसाथ बहुबर्षीय साधारणसभा आब्हान गरेको छ । बिगतका छ आर्थिक बर्षहरुको लेखा परीक्षण सकेर कम्पनीले अबको बाटो तय गर्न चार बर्षको साधारणसभा एकैपटक बोलाएको हो ।

नेशनल हाईड्रोले सार्वजनिक गरेको सूचनामा मंसिर १ गते बसेको संचालक समितिको बैठकले मंसिर २६ गते १६, १७, १८ र १९ औं साधारणसभा गर्ने निर्णय गरेको जनाईएको छ ।

सो साधारणसभामा बक्यौता बर्षहरुको लेखापरीक्षण प्रतिबेदनहरुमाथि छलफल गरी पारित गर्ने, गत आर्थिक बर्ष २०७२,०७३ को लेखापरीक्षण गर्न लेखापरीक्षक नियुक्त गर्ने सामान्य प्रस्तावहरु छन् भने बिशेष प्रस्तावमा कम्पनीलाई अन्य जलबिद्युत कम्पनीसँग मर्जमा लैजाने वा अरुलाई मर्ज गरेर ल्याउने, अपलेखन नभएका खर्चहरु अपलेखन गर्ने लगायत छन् ।

दुईजना लेखापरीक्षकहरु एनपी एण्ड एशोसियटका अनिल पौडेल र जी एण्ड डी एशोसियटका ज्योति पाण्डेले कम्पनीको बक्यौता लेखापरीक्षणहरु गरेका हुन्। पौडेलले अघिल्ला तीन बर्षका लेखापरीक्षणहरुको टुंगो लगाईसके पछि पाण्डेका तर्फबाट बाँकी तीन बर्षको लेखा परीक्षण गरिएको हो । बिगतमा एनबी समूहले धरासायी बनाएको कम्पनी अब भने नयाँ जीवन प्राप्त गरेर अगाडि बढ्ने आशा लगानीकर्ताहरुमा पलाएको छ ।