Home
Media News

नेशनल हाईड्रोले पूर्ण क्षमतामा बिद्युत उत्पादन गर्न जडान गर्यो नर्वेको अत्याधुनिक प्रबिधि।


नेशनल हाईड्रोले साढे सात मेगावाटको चालु बिद्युत आयोजनालाई पूर्ण क्षमता चलाएर बिद्युत उत्पादन गर्न नर्वेको एडिकोन प्रबिधि जडान गरेको छ । वालुवा छानेर टनेल र रनरमा पस्न नदिने यो प्रबिधि प्रयोग गर्ने नेशनल हाईड्रो दोस्रो कम्पनी भएको बताईएको छ ।

नेशनल हाईड्रोका संचालक बिशेश्वर सुबेदीका अनुसार आयोजनाको टनेल र रनरमा बालुवा भरिएर बिद्युत उत्पादन घट्ने र आयोजना बारम्बार मर्मत गरिरहनु पर्ने बाध्यता हटाउन नयाँ प्रबिधि जडान गरिएको हो । यो प्रबिधि जडानबाट बर्षायाममा साढे सात मेगावाटसम्म बिजुली उत्पादन भएर कम्पनीको आम्दानी बार्षिक साढे दुई करोड रुपैयाँले बढ्नसक्नेछ । नयाँ प्रबिधिको मूल्य र जडान खर्च जोड्दा साढे दुई करोड परेको छ ।

नेशनल हाईड्रोले अहिले ईन्द्रावति नदीमा पानीको सतह घटेकाले साढे चार मेगावाट मात्र बिजुली उत्पादन गरिरहेको छ । बर्षायाममा बिद्युत उत्पादन बढेमा बार्षिक १९ करोड रुपैयाँसम्म आम्दानी हुनसक्ने सुबेदीले बताए ।

नेशनल हाईड्रोमा एनबी समूहले खडा गरेको बिबाद साम्य भए पनि अझै ५६ करोड जगेडा घाटामा भएकाले सेयरधनीले तत्काल कुनै लाभांश पाउने अबस्था छैन । तर नेशनल हाईड्रोको केही सेयर हाथ्वे समूहले दोस्रो बजारबाट किनेकाले सेयरधनीबीचको संरचनामा भने परिवर्तन आएको छ ।